हिमालय रोडिज सिजन ५ को उपाधि खोटाङका सञ्जिप राईले जितेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधिसँगै १० लाख रुपैयाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे ।

यसअघि फिजिकल अडिसनमा एलिमिनेशनको सामना गरिसकेका राईको यो तेस्रो प्रयास हो। आफ्नो जितको सम्झना गर्दै राई भन्छन्, "मैले यो जितलाई मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धिको रूपमा लिएको छु" र युवाहरूलाई हार नमान्न प्रोत्साहित गर्दछु।

सुरुमा बेलायती गोर्खा बन्ने आकांक्षा राखेका राईले र्याप सहित चारवटा गीत रिलिज गर्दै संगीत करियरतिर लागे। प्रतियोगितामा विश्व मगर फस्ट रनरअप भए ।

सिजनको अन्तिम एपिसोडमा फाइनलिस्टलाई गह्रुँगो काठको मुडा र डोकोमा टायर बोकेर पोखरा फेवाताल नजिकको डाँडो चढ्नुपर्ने टास्क दिएको थियो । डाँडाको टुप्पोमा विश्वभन्दा सञ्जीप चाँडो पुगेका थिए । जसको आधारमा उनलाई विजेता घोषित गरियो ।
विजेता र उपविजेताको घोषणा फेवाताल किनारमा गरिएको थियो । उक्त अवसरमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेल र मुख्य प्रायोजक यामहा नेपालका व्यवस्थापन निर्देशक विष्णु अग्रवाल पनि उपस्थित थिए ।
किरात राई यायोक्खा जापानबाट पनि राईको स्मरणीय यात्राको अवसरमा विशेष शुभकामना व्यक्त गरिएको छ ।

निर्देशक सिमोस सुनवारले पाँचौ सिजनलाई सफल बनाउन पर्दाअघि र पर्दा पछाडिका सबै सहयोगी हातको योगदान रहेको बताए । साउन १५ देखि प्रसारण सुरु भएको पाँचौ सिजनको डिजिटल अडिसनमा चार हजार ४०० र फिजिकल अडिसनतर्फ एक हजार ११६ जना सहभागि थिए ।
‘पावर अफ फाइभ’को थिममा तयार भएको पाँचौ सिजनलाई चर्चित टेलिभिजन पर्सनालिटी सुरजसिंह ठकुरीले होस्ट गरेका थिए । र्यापर लाउरेसहित अभिनेता अनुपविक्रम शाही, अभिनेत्रीद्धय दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रुपमा थिए ।